- बसन्त महर्जन
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विषयमा चर्चा हुँदा विशेषतः त्यहाँको पुरातत्वको विषयमा जोसुकैले पनि सजिल्यैसित टिप्पणी गर्ने कुरा हो- त्यहाँ केशर शमशेरले धेरै महत्वपूर्ण पुरातात्विक कुराहरूको नष्ट गरे । उनको काम गराइ वैज्ञानिक थिएनन् र उत्खनन्को प्रतिवेदन पनि प्रकाशित गरेनन् । यस्तो आरोप अरु त अरु, पुरातत्वको विषयमा मात्र नभई लुम्बिनीको सामान्य ज्ञानसमेत नभएका जो सुकैले पनि लगाउने गरेका छन् र केशरशमशेरलाई दोष लगाउनु वा गाली गर्नु नै विद्वताको मापदण्डजस्तै भएको छ । यसरी आरोप लगाउनेहरुलाई के कुरामा सजिलो छ भने, आरोपित व्यक्तिको दिवंगत भैसकेको छ र आरोपको आधार देवला मित्रा र पछि अन्य पुरातत्वविद्हरूले पनि यस्तै आरोप लगाएका छन् । तर एउटका अचम्मको कुरा के रहेको छ भने आजसम्म जे जति आरोप लगाइएका छन् ती सबैमा एउटै कुरा र भाषाशैलीमा रहेका छन् । थप अध्ययन भएको छैन । उत्खनन्को प्रतिवेदन प्रकाशित नभएको अवस्थामा त्यसलाई वैज्ञानिक थियो वा थिएनन् भन्ने आधार नै नभएको यहाँ स्मरणीय छ ।
सन् १८९६ को डिसेम्वरमा खड्गशमशेर र डा. ए. फुहररको संयुक्त कार्यले लुम्बिनीको पहिचान भएको थियो र यसको प्रचारप्रसारपछि त्यहाँ थुप्रै व्यक्तिले अध्ययन अनुसन्धान गरे । सन् १८९९ मा लुम्बिनी पुग्ने पी. सी. मुखर्जीले सिर्द्धार्थजन्म अंकित मायादेवीको मूर्तिको टाउको भाग बाहिर भेटेर मूर्तिमा जोड्नुभन्दा अघि डा. होयले सो मूर्तिको पहिचान गरिसकेका थिए । डा. होयभन्दा अघिपनि अन्य विद्वानहरु त्यहाँ पुगिसकेको देखिन्छ । मुखर्जीले त्यहाँ अन्वेषणमात्रै नभई सानातिना उत्खनन् पनि गरेका थिए र ती कार्यहरुको विवरण उनले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् । उनीपछि पनि लुम्बिनीमा थुप्रै काम भएको पाइन्छ तर सन् १९३३-३९ मा जनरल केशर शमशेरको नेतृत्वमा विस्तृत रुपमा भएको थियो । केशरशमशेरले गरेका कार्यहरुको रिपोर्ट वा टिपोट प्रकाशित नहुनु नै उनको दुर्भाग्य भयो । तर उनले रिपोर्ट लेख्दै नलेखेको भने रहेनछ भन्ने जाकारीमा आएको छ । प्रा. डा. मुकुन्दराज अर्यालका अनुसार उनले यस सम्वन्धी लेखेको रिपोर्ट केशरलाइब्रेरीमा सुरक्षित गरहेको छ । यस्तो अवस्थामा उनले काम थाल्नुभन्दा अघि लुम्बिनीको वस्तुस्थिति कस्तो थियो, त्यहाँ के के भएको थियो भन्ने कुरा अनुमान गर्नलाई पनि मुस्किल भएपनि अनुमानै लगाउन नसकिने भने होइन । उनले काम गर्नुभन्दा अघिका बर्णनहरू, उनको काम गर्राईपछिका वस्तुस्थिति र सन् १९९३ को उत्खनन्ले सो सम्वन्धी अध्ययनमा धेरै नै सहायता गर्दछ ।
अशोक स्तम्भभन्दा पूर्वको ढिस्कोमा मायादेवी मन्दिर केशरशमशेरबाट निर्माण भएको थियो । निर्माणका क्रममा ढिस्कोबाट के कति माटो झिक्ने काम भयो, माटो झिकेर भित्रको वास्तुमा छोयो वा छोएन, छोयो भने छुनु भन्दाअघि त्यहाँ कस्तो संरचना थियो र कतिसम्म इँटा झिकियो आदि बारे कुनै जानकारी छैन । तर केशरशमशेरले बनाएको मन्दिरको संरचनाको अध्ययन गर्दा उक्त ढिस्कोमा केशरशमशेरले खासै बिगारेको देखिन्न । माटो पन्छाउँदै गर्दा जहाँ जहाँ इँटाको संरचना भेटिन्छ त्यहाँसम्म मात्रै गएर पछि सम्पूर्ण संरचनालाई साल अंकित इँटाले छोपिदिएको देखिन्छ । मुखर्जीले ढिस्कोको माथिल्लो सतह खनेर हरेका थिए र उनको रिपोर्टसँग मिल्दो संरचना सन् १९९३ को उत्खनन्मा पाइएको थियो । यसबाट पनि प्रमाणित हुन्छ, केशरशमशेरलाई लगाइएको आरोप सही ठाउँमा परेन । उनीभन्दा अघि नै लुम्बिनीमा बज्रलेपनसहित रोमन शैलीको झलक आउने सेतो रंगले रंगाइएको संरचना देखिन्छ । तत्कालिन नेपाल, विशेष रुपमा काठमाडौं उपत्यकामा युरोपियन शैलीको वास्तुकला भित्रिएको थियो र त्यो राणा वा उच्च घरानाहरूमा निकै लोकप्रिय थियो । संभवतः यो संरचना खड्गशमशेर वा पछिका सरकारी अधिकारीबाट बनाइएको थियो । सन् १९३३ मा केशरशमशेरले काम थाल्नुभन्दा अघिको तस्वीर र डा. फुहररले आफ्नो पुस्तकमा प्रकाशित गरेका तस्वीरमा भिन्नता देखिन्छ । खड्गशमशेर वा अरु कसैले त्यो संरचना पुरातात्विक ढिस्कोमाथि बनाइएको हो र केशरशमशेरले त्यसलाई यथावत् राखीे माटो पन्र्छाई सुरक्षाको निम्ति नयाँ इँटाले पुराना इँटाहरुलाई छोप्ने काम मात्र गरेका थिए । पछिल्ला पुरातत्वविद्हरुलाई अध्ययनको सुविधाको लागि सुरक्षित राखिदिएको जस्तो आभास पनि हुन्छ । यसरी नै पुरातात्विक ढिस्कोलाई सुरक्षित पार्ने क्रममा उनले आफ्नो काम गर्राईको साल अंकित इँटा (१९३९) ले छोपेका थिए, जुन पुरातात्विक दृष्टिले तुलनात्मक रुपमा वैज्ञानिक कार्य मान्नु पर्दछ । सन् १९९३ मा पुरातत्व विभाग, लुम्बिनी विकास कोष र जापान बुद्धिष्ट फाउण्डेशनको संयुक्त टोलीले सो नयाँ इँटा निकालेर उत्खनन् कार्यलाई अगाडि बढाएको थियो । यसरी नै खड्गशमशेरले निर्माण गर्न लगाएको कोठालाई केशरशमशेरले माथि अरु बुट्टा निकालेर बज्र लेपन गरी सेता रंगले रंगाउने बाहेक अरु केही नगरेको उत्खनन्का बेला बज्र उप्काउँदा देखिएको संरचनाबाट स्पष्ट हुन्छ । पुरातात्विक ढिस्कोको संरक्षणबाहेक केशरशमशेरले अरु काम नगरेको भन्ने कुरालाई भिक्षु सुदर्शन महास्थविर पनि र्समर्थन गर्नुहुन्छ । उहाँको भनाइ यस प्रकार छ- 'जहाँसम्म सिर्द्धार्थ जन्म स्मारक -मन्दिर) को कुरा छ, त्यसमा उहाँले बाहिरबाट पुरानो अवशेषलाई टोपी लगाई दिने जस्तो छोपी दिने महत्वपूर्ण काम गर्नु भएको छ । स्मारकको अवशेष भिरालोलाई खण्ड खण्ड गरी अग्लो होचो रुपमा नयाँ इँटाले छोपेर तल्लातल्लाको मैदान बनाइ दिनु भएको छ । अगाडिको पूर्वी भिरालो पछिल्लो पश्चिमी भिरालो सम्याएर प्राचीन भिरालो वा मैदानलाई उहाँले विनष्ट गर्नु भएको छैन । अगाडिको उँचाईलाई अग्लो नै बन्न दिई पछिल्लोको होचो अवशेषलाई होचो नै बन्न दिइकन दुई तहको मैदान रहन दिनु भएको छ । शायद यसै क्रममा उहाँले स्मारकको थुम्कोमा मायादेवीको मूर्तिसहितको सानो कोठाको थप निर्माण कार्य पनि गर्नु भयो ।' यसरी पुरानो संरचनाको सुरक्षाकोलागि नयाँ इँटाले छोप्दै जाँदा त्यहाँ एउटा नयाँ संरचना देखियो र त्यसलाई रंगरोगन गर्दा रोमन शैलीको वास्तुजस्तो आकार निर्माण हुनपुग्यो । तर यो रोमन शैलीको मन्दिर पनि केशरशमसेरले बनाउको नभई पुरानै थियो ।
गौतम बुद्धभन्दा अघिदेखि नै अस्तित्वमा रहेको र उनको जन्मअगाडि मायादेवीले नुहाएको भनिएको पोखरी शाक्य पुष्करिणी हो । यो पोखरी पी. सी. मुखर्जीले देख्दा त्यहाँ पिउन हुने खालको कंचन पानी थियो । केशर शमशेरले त्यहाँ काम थाल्नु अगाडिको एउटा तस्वीरमा सो पोखरी देखिन्छ र पानीमा अशोक स्तम्भको छायाँ स्पष्ट छ । केशर शमशेरले त्यसलाई ठूलो बनाउनुका साथै त्यसमा इँटा छाप्ने कार्य गरेका थिए । पोखरीलाई ठूलो बनाउने क्रममा पोखरीको पूर्व दिशातिर पुरातात्विक संरचनालाई क्षति पुग्न गएको भनिन्छ । पोखरीको पूर्वमा रहेको पुरातात्विक क्षेत्रको गारो पूर्वबाट पश्चिमतर्फआइरहेको र बीचमा त्यत्तिकै काटिएको पाइँदा त्यो अपूर्ण हो नै तर केशरशमशेरले पोखरीलाई खासै ठूलो बनाएको भने भन्न मिल्दैन । लुम्बिनी भनी पहिचान भएको तीन वर्षछि पी. सी. मुखर्जीले तयार पारेको त्यस क्षेत्रको नक्शामा पोखरीलाई वर्गाकार नै देखाएको छ बरु उनले इँटा छापेर खुड्किलाहरू भने बनाइदिएको अवश्य हो ।
अशोक स्तम्भको दक्षिण र उत्तर दिशामा दुई माटाका ढिस्काहरु रहेका छन् । लुम्बिनी पुग्ने धेरै जसो यात्रीहरु यसलाई पनि प्राचिन स्तुप नै भन्ठान्छन् तर यो त केशरशमशेरले लुम्बिनीमा काम गर्दा निस्केको माटोलाई थुपार्दा बनेको ढिस्कोमात्र थियो । ती ढिस्कोहरूलाई लुम्विनी विकास कोषले हटाएर हाल त्यहाँ बगैंचा बनाएको छ । दक्षिणमा रहेको माटोको ढिस्को हटाउँदै गर्दा त्यससम्वन्धी प्रकाशित एक समाचारमा ढिस्कोबाट खासै महत्वको पुरातात्विक सामग्रीहरु नपाएको प्रतिक्रिया व्यक्त भएको थियो । त्यहाँबाट प्राप्त ससाना माटाका मूर्तिहरु हाल लुम्बिनी विकास कोषको कार्यालयमा सुरक्षित राखिएका छन् तर त्यससम्वन्धमा कुनै रिपोर्ट प्रकाशित भएको छैन । ती सामग्रीहरू कोषका एक कर्मचारीको सौजन्यले एक पल्ट अवलोकन गर्ने अवसर पाएको थिएँ । करीव ३०-३५ वटा मूर्तिहरू पाइएका रहेछन्, सबै मृण्मयी । बढीमा पाँच इन्चसम्मका ती मूर्तिहरूमा मानवाकृतिको धेरै जसो भागहरु खिइसकेका छन् भने घोडालगायतका आकृतिहरू खिइएको छैन । केही नृत्यरत् नारी मूर्तिहरू पनि छन् । ती पुरातात्विक सामग्रीहरू पनि अध्ययनको विषय हो तर ती सामग्रीका बारेमा कोष आफैले अध्ययन गर्दै गरेकोले अन्यबाट त्यससम्वन्धमा नलेखियोस् भन्ने मान्यता रहेको पाइयो ।अध्ययन पनि भएको देखिँदैन । यसरी नै उत्तरतिरको ढिस्कोमा पनि खासै कुनै वस्तु फेला नपरेको बताइन्छ ।
केशर शमशेरले कार्य सम्पन्न गरेको लगत्तै लुम्विनी भ्रमणमा आएका एक भारतीय यात्रीका अनुसार यी दुवै ढिस्को पंजावी इन्जिनियर गोकुलचन्द्र नग्रथले बनाएका थिए । यस ढिस्कोमा इँटाहरूको पनि प्रयोग भएको थियो । वास्तवमा त्यहाँ जीर्णोद्धार सम्वन्धी विभिन्न भाषामा अभिलेख राख्ने सोचाइरहेको थियो । तर यसै बीच १९३४ को महाभूकम्पको विनाशले सबैको ध्यान लुम्विनीको निर्माणबाट हटेर अन्तै मोडियो । यो भूकम्पले नजिकै भारतको विहारमा मात्र ठूलो मात्रामा क्षति पुगेको नभई राजधानी काठमाडौंको दरवारमा पनि क्षति पुगेको थियो । दरवारको मर्मतका लागि इन्जिनियर नग्रथलाई काठमाडौं पठाउनु पर्दा लुम्बिनीको काम रोकिन गयो । दरवारको मर्मतकै क्रममा उनको मृत्यु भएकोले अभिलेख राख्ने योजना पूरा हुन पाएन ।
केशरशमशेरले ठूलो मात्रामा मूर्तिहरू पाएको संकेत उनको कार्यको लगत्तै लुम्बिनी भ्रमणमा आएका भारतीय यात्रीले आफ्नो यात्रा विवरण लेखमा दिएका छिन् । उनका अनुसार त्यहाँ एउटा कोठा रहेको थियो जहाँ लुम्बिनी उत्खनन्बाट प्राप्त मूर्ति लगायतका सामग्रीहरु राखिएको थियो । मुखर्जीले पनि कोठामा मूर्तिहरू राखिएको भन्ने उल्लेख गरेका छन् । ती मूर्तिहरू यात्रुहरूको अवलोकन हेतु नै राखिएको थियो । भारतीय पुरातत्वविद् देवलामित्राले ती मध्ये केहीको तस्वीर सहित प्रकाशित गर्नु भएको छ ।
लुम्विनीको उत्खनन्को क्रममा त्यहाँबाट के कस्ता सामग्रीहरु प्राप्त भयो वा भएन भन्ने कुनै श्रेस्ता पाइएको छैन । भुवनलाल प्रधानका अनुसार यहाँ पालिसदार माटाका टुक्राहरू, सिक्का, बुट्टेदार इँट आदि प्राचीन वस्तुहरु पाइएका थिए । तर मुद्रालगायतका प्राप्त पुरातात्विक सामग्रीहरु हाल उपलब्ध छैनन् । केशरशमशेरको उत्खनन्का बेला पाइएको भनिएका केही मूर्तिको तस्वीर देवला मित्राले आफ्नो पुस्तकमा छपाएका छन् तर ती सामग्रीहरू कहाँ कुन अवस्थामा छन् भन्ने यकिन छैन ।
लुम्बिनी पुरातात्विक दृष्टिले निकै महत्वपर्ूण्ा र सम्वेदनशील क्षेत्र हो । तर यहाँ यसलाई त्यस रुपमा लिएको कहिल्यै देखिन्न । डा. फूहरर समयमै नपुगेका भए खड्गशमशेरले अशोकस्तम्भ हात्ती लगाएर उखेलिसक्थे । अशोकस्तम्भमा रहेको अभिलेख पढिएपछिमात्र प्राचीन लुम्बिनी यहीं रहेछ भन्ने कुरा विश्वले थाहा पायो र यस क्षेत्रको महत्व बढ्यो । केशरशमशेरबाट लुम्बिनीको पुरातात्विक कुराहरूमा क्षति भयो भन्नेहरुलाई हेक्का हुनर्ुपर्छ, त्यहाँका सम्पदाहरुमा क्षति पुर्याउने कार्य उनीभन्दा र पछि पनि उत्तिकै मात्रामा भैरहेको देखिन्छ । जसलाई जुन बेला मन पर्यो, बिना अवरोध मान्छेहरूलाई त्यहाँ काम गर्ने अवसर पाइरहेका छन् । सबैभन्दा सम्वेदनशील पुरातात्विक कुरा अशोकस्तम्भलाई अज्ञानतावश खड्गशमशेरले हात्ती लगाएर उखेल्न खोजेका थिए भने त्यसपछि पटकपटक त्यसको जग हर्ेर्ने भनेर खन्ने काम भयो । यसरी नै अर्को सम्वेदनशील कुरा 'मार्कर स्टोन' लाई डकुमेन्ट्री फिल्म सुटिङ गर्न आएको एउटा टोलीको रहर पूरा गर्न खुल्ला हातले छुन दिएको घटना पुरानो भएको छैन । मायादेवी मन्दिरको उत्खनन्पछिको संरचना के गर्ने भन्ने ठोस निर्ण्र्ाालिन नसक्दा 'गो बायक टु मंगलमान' भनेजस्तै केशरशमशेरले बनाएको संरचनामै र्फकनु पर्यो ।
मन्दिर पुनःनिर्माणका क्रममा आवश्यक गुणस्तर र सावधानी अपनाएको पाइन्न । मन्दिर निर्माणको शुरुका कार्यहरु 'पाइलिंग'देखि नै त्रूटि देखिएकोे र अन्ततः गारो उठाउँदा एक पल्ट भाँसिन पनि पुगेको थियो । यसरी नै मन्दिर उद्घाटन हुनु अगावै माघको पहिलो साता वषर्ाको पानी चुहिएको घटनालाई पनि काम राम्रो भएको भन्न सकिन्न । पन्ध्र वटा च्याम्बरलगायत अन्य पुरातात्विक संरचनाहरुलाई आजभोलि जुन रुपमा खुल्ला पर््रदर्शनीमा राखिएको छ त्यो उचित हो वा होइन भन्ने कुरामा छलफल हुन्ु पर्ने देखिन्छ किनभने इँटाहरूमा अहिल्यै लेउ परेकोे देखिन्छ । मन्दिरभित्र खुल्ला पर््रदर्शनमा राखिएका च्याम्बरकार् इंटाहरुमा जमीन मुनिको पानीको असर पनि देखा परेको छ । प्राकृतिक रुपमै स्वास फर्ेर्ने क्रममा इँटाहरु फुल्ने तथा जमीन भित्रको पानीमा रहेको नून पनि सँगै माथि ल्याउँदा त्यसले इँटालाई असर गर्ने गर्दछ । मायादेवी मन्दिरको पुनःनिर्माणका सम्वन्धमा टिप्पणीहरु हुँदा लुम्बिनी विकास कोष तथा सम्वद्ध व्यक्तिहरू त्यहाँ पुरातात्विक कुराहरुलाई छोप्ने कार्य मात्र भएको र सजिलैसँग हालको भवनलाई हटाउन मिल्ने गरी बनाएको बताउँछन् तर मन्दिर निर्माणका क्रममा त्यस्तो हुनसकेन । यतिमात्र नभई फलामका सत्तरीमा बोल्टीङ गर्ने भनी पास भएको ठाउँमा वेल्डिङ गरिएको छ ।
पुरातात्विक क्षेत्रको उत्खनन्पछि त्यस क्षेत्रको संरक्षणलगायतका कुराहरू गर्नुअघि उत्खनन्का सम्पर्ूण्ा रिपोर्टको अध्ययन गरिनु पर्दथ्यो तर रिपोर्ट नै प्रकाशित हुन नसकेको अवस्थामा मायादेवी मन्दिरको पुनःनिर्माण नै कति ठीक छ वा छैन भन्ने विषय विवाद वा छलफलको पाटो हुन सक्छ । यसभन्दा अघिका उत्खनन् रिपार्टहरू पनि सामान्य लेखको रुपमा पत्रपत्रिकामा प्रकाशित हुनु बाहेक प्रतिवेदनकै रुपमा प्रकाशित छैनन । यस्तो अवस्थामा हालसम्म भएको कामलाई केशरशमशेरको कामभन्दा फरक देखिन्न । तर यस्तो लाग्छ, आफ्नो कमजोरीलाई ओझेलमा पार्न सम्वन्धित निकाय र व्यक्तिहरू केशरशमशेरको दोषलाई अघि सारेर बसेका छन् ।
No comments:
Post a Comment