Saturday, November 21, 2009

नेपालका लागि इस्वीसंवत्

वसन्त महर्जन

नेपालमा दैनिक प्रयोजनका लागि कुन संवत् उपयुक्त होला ? यस प्रश्नको उत्तरमा नेपालसंवत् र विक्रमसंवत्का पक्षधरबीच लामो समयदेखि विवाद चल्दै आएको छ । कुनै पनि संवत्को प्रयोगका लागि भनेर यति लामो विवाद चलेको सम्भवतः संसारमा कहीँ पनि पाइँदैन । यस विवादका सम्बन्धमा हजारौँ लेखरचना र दर्जनौँ पुस्तक प्रकाशित छन् । नेपालसंवत्को पुनस्र्थापनाका लागि आन्दोलन नै चल्यो र हाल यस संवत्का प्रवर्त्तक शंखधरले राष्ट्रिय विभूति र संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएका छन् । विक्रमसंवत् र इस्वीसंवत् गरी दुई संवत्को प्रयोगले नै अलमलिरहेको अवस्थामा नेपालसंवत् पनि थपिएको छ । हालै 'किराँत यले संवत्लाई पनि राष्ट्रिय संवत्को रूपमा मान्यता दिइनुपर्ने माग अगाडि सारिएको छ । संवत्हरूको भीडमा अर्को विवाद थपिन पुगेको छ र 'काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर' भन्ने लोकोक्ति चरितार्थ भइराखेको छ ।

धेरैलाई लागेको हुनसक्छ, विक्रमसंवत् नेपालमा परापूर्वकालदेखि चल्दै आएको संवत् हो । तर, यथार्थ त्यस्तो होइन । लामो समयदेखि चल्दै आएको नेपालसंवत्लाई विस्थापित गरी विक्रमसंवत्लाई स्थापित गरिएको पनि होइन । तत्कालीन नेपाल राज्य वा विखण्डित कान्तिपुर, भक्तपुर र पाटन तीन राज्यमाथि अधिकार जमाइसकेपछि गोरखाका राजा पृथ्वीनारायण शाहले गोरखामा प्रचलित शाके संवत्लाई नयाँ नेपालमा प्रचलनमा ल्याएका थिए । त्यसको निकै समयपछि मात्र चन्द्रशमशेरको वेलामा विक्रमसंवत्लाई प्रचलनमा ल्याइएको हो, तर किन र के कारणले भन्ने कुरा खुल्दैन ।

यसबीचमा पनि काठमाडौंका नेवारहरूले आफ्नो दैनिक प्रयोजनबाट नेपालसंवत् छुट्टयाएका थिएनन् । पछि राष्ट्रिय जागरणस्वरूप नेपालसंवत् नै राष्ट्रिय संवत्का रूपमा मान्यता पाउनुपर्ने आवाज उठ्यो । तर, यो आवाजलाई दबाउन 'साम्प्रदायिक भावना'जस्ता लाञ्छना लगाइयो र यसको नामै फेरेर 'नेवारी संवत्' भन्न पनि बाँकी राखिएन । अझ रमाइलो कुरा त के रह्यो भन्दा, राज्यको स्वामित्वमा रहेको राष्ट्रिय दैनिक गोरखापत्र त केही समय विक्रमसंवत्लाई नै नेपालसंवत् भनी ढाकछोप गर्नेतिर पनि लाग्यो ।

ऐतिहासिक लेख्यसामग्री अध्ययन गर्ने हो भने नेपालमा विभिन्न संवत्को प्रयोग भएको पाइन्छ । तिनमा मानदेवसंवत् र नेपालसंवत् मात्रै नेपालको आफ्नै संवत् रहेको देखिन्छ । ००७ सालको राजनीतिक परिवर्तनपछि केहीले 'त्रिभुवन संवत्' भनी नयाँ संवत् चलाउन खोजेका थिए, तर सकेनन् । नेपालसंवत्लाई राष्ट्रिय मान्यता दिइएपछि 'किराँत यले संवत्'लाई पनि राष्ट्रिय मान्यता दिई दैनिक व्यवहारमा यसको प्रयोग गर्नुपर्ने माग आएको छ । किराँत यले संवत् पक्षधरहरूको दाबीअनुसार यो ऐतिहासिक संवत् हो । तर, यो हालसम्म प्रचलनमा आएको नदेखिनु आफैँमा आश्चर्यको कुरा हो । यो संवत् कुन मितिदेखि सुरु गर्नुपर्ला भन्ने निक्र्याल पनि हुन सकेको छैन । कसैले एकबाटै सुरु गर्नुपर्ला भनिराखेका छन् भने कसैले गोपालराजवंशावलीका आधारमा राजा यलम्बरबाट गणना गर्दा उपयुक्त हुन्छ भनिराखेका छन् । यसैगरी कसैले राजा स्थुंको समयदेखि यसलाई यसको उत्थान मानी गणना गर्नुपर्ला भनी हचुवा पाराले तर्क गरिराखेका छन् । अर्थात् यसको स्थापनाकार्य नै बाँकी रहेछ ।

संवत्को प्रयोजन भनेको दैनिक व्यवहारमा सजिलोका लागि हो । नेपालको दैनिक व्यवहार वर्तमान विश्वसँग सामञ्जस्य राखिएन भने अरूलाई त केही हुनेवाला छैन, घाटा आफैलाई हो । सबै कुरा आफ्नै परम्परा र इतिहाससम्मत गर्न खोज्ने चिनियाँहरूले त इस्वीसंवत् चलाउन थालिसकेको अवस्थामा नेपाल त्यो प्रवाहबाट पन्छिन सक्ने अवस्था छैन । नेपालले चलनचल्तीमा रहेको भनेर अन्तर्राष्ट्रियस्तरमा विक्रमसंवत्लाई चलाउने अवस्था पनि छैन । नेपालभित्रै पनि जनस्तरमा विक्रमसंवत्को चल्तीघट्दो र इस्वीसंवत््कै चल्ती बढ्दो छ । यस अवस्थामा नेपाललाई कुन संवत् उपयुक्त होला ? संवत्हरूको किचलो भइराखेको र अझ बढ्ने सम्भावना रहेको अवस्थामा यस विषयमा छलफल त हुनैपर्छ ।

इतिहास, संस्कृतिलगायत हरेक कुरामा समानता राख्ने भनिएको भारतमा आफ्नै विक्रमसंवत्लगायत दर्जनौँ संवत् छँदाछँदै सरकारी कामकाजमा इस्वीसंवत्को प्रयोग हुन्छ । नेपालजस्तो मुलुकले तीन वा तीनभन्दा बढी संवत् थेग्नसक्ने अवस्था छैन र व्यावहारिक पनि हुँदैन । राष्ट्रकै नाममा रहेको, सीमित क्षेत्रमै भए पनि प्रचलनमा रहेको र ऐतिहासिकता पनि भएको नेपालसंवत्लाई सम्पदा वा निधिकै रूपमा मान्यता दिँदै स्वदेश र विदेश सबै क्षेत्रमा एउटै मात्र इस्वीसंवत्लाई प्रचलनमा ल्याउनु उपयुक्त हुने देखिन्छ ।

Monday, November 16, 2009

स्तुपमाथि चुलबुले केटी

- बसन्त महर्जन
बुद्धको जन्मस्थल लुम्बिनीस्थित एउटा स्तुपमाथि उक्लेर ध्यान गरेजस्तो बसी खिचाइएको एउटा तस्बिरले हालै ध्यान खिच्यो । तस्बिरमा रहेकी नवयुवती साधारण नै थिई, बैँस पनि चकचकी हुने खालकै थियो । तर, मेरो ध्यान खिच्नुमा उनको त्यो हावभाव थिएन, बरु स्तुपमाथि उनको चढाइ थियो । त्यस तस्बिरले केही अहम् प्रश्न उठाइदिएको छ, जसको जवाफ नखोजी हुन्न ।
सर्वप्रथमतः स्तुपमाथि चढ्नु नै आपत्तिजनक कुरा हो । स्तुप भनेको गौतम बुद्ध वा बुद्धसँग सम्बन्धित स्मारक हो । सो स्मारक नेपालका एउटा ठूलै समुदायको आस्थासँग पनि जोडिएको छ । कसैको आस्थासँग खेलबाड गर्नु आफैँमा असहिष्णुता हो । कसैको आस्थाका बारेमा थाहा नपाउनु र अनजानमा त्यस्तो हुनु सम्भव छ । तर, नेपालजस्तो देशमा आफ्नोबाहेक अरूको धर्मका बारेमा थाहा छैन भन्नुचाहिँ अस्वाभाविक कुरा नै हुन्छ । किनभने, यहाँ धार्मिक कट्टरता छैन र एउटा धार्मिक स्थलमा अरू धर्मका प्रतीक स्थापना गरिएको हुन्छ । हिन्दू मन्दिर र बौद्ध स्मारक सँगसँगै निर्माण गरिएको पाइनु नेपालको सांस्कृतिक इतिहासमा नौलो कुरा होइन ।
दोस्रो कुरा, त्यो स्तुप पुरातात्त्विक वस्तु पनि हो । लुम्बिनीस्थित प्रत्येक सम्पदा पुरातत्त्वसँग सम्बन्धित छन् । पुरातात्त्विक महत्त्वका ती सम्पदा आफैँमा राष्ट्रिय निधि हुन् । त्यहाँ अशोकस्तम्भ पाइएको तथ्यबाटै गौतम बुद्ध नेपालको लुम्बिनीमै जन्मेका हुन् भन्ने प्रमाणित भएको हो, यसमा नेपालीलाई ठूलो गौरवबोध छ । लुम्बिनी देखाएर नेपालले पर्यटन उद्योगको विकास गरिरहेको छ र अझै पनि विकासका प्रशस्त सम्भावना छन् ।
लुम्बिनीलाई लुम्बिनी भनेर चिनाउने अशोकस्तम्भ र अशोकस्तम्भमा अंकित वर्णनअनुसारको पुरातात्त्विक प्रमाणहरू त्यहाँ पाइनु अर्को महत्त्वपूर्ण कुरा हो । लुम्बिनीस्थित पुरातात्त्विक सम्पदाहरू पूर्व-मौर्यकालदेखि गुप्त कालसम्मका छन् । ती विभिन्न कालखण्डमा विभिन्न निर्माणकार्य भएका थिए र आज ती कुरा ऐतिहासिक साक्षी भएर रहेका छन् ।
युवतीले ध्यान गरेजस्तो बसेर खिचाएको स्तुपको भग्नावशेष पनि एउटा त्यस्तै इतिहासको महत्त्वपूर्ण साक्षी हो । यस्तो पुरातात्त्विक महत्त्वका सम्पदाको प्रयोग मनलाग्दो ढंगले गर्नु हुन्न । यिनीहरू अत्यन्त संवेदनशील हुन्छन् । सानो गल्तीले पनि ठूलो असर पर्ने हुन्छ । त्यसैले तिनको सुरक्षा र संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन्छ ।
पुरातात्त्विक स्थललाई सबै ठाउँमा सार्वजनिक प्रदर्शनीमा राखिँदैन । सुरक्षाका दृष्टिले यसलाई सार्वजनिक प्रदर्शनीमा नराखिन पनि सक्छ । प्रदर्शनीमा राखिँदा पनि सर्वसाधारणले त्यसमा छुने वा तलमाथि गर्ने काम नहोस् भनेर सुरक्षाकर्मी राखिएका हुन्छन् । लुम्बिनीमा पनि त्यस्तो व्यवस्था नगरिएको होइन । 'सम्पदास्थलमाथि चढ्न हुँदैन' भनेर सूचना-पाटी पनि टाँगिएकै छ । तर, त्यसैमाथि चढ्नु र तस्बिर खिच्नु भने आपत्तिजनक छ । ती युवतीको प्रतिक्रिया थियो— त्यहाँ जो पनि चढ्न पाइन्छ । अर्थात् अरूहरू चढेर तस्बिर खिचिराखेको देखेर उनी पनि त्यसरी नै तस्बिर खिचाउन पुगेकी हुन् । उनले तस्बिर सार्वजनिक गरेर आनन्द पनि लिइरहेकी छिन् । यसको सोझो अर्थ हो— लुम्बिनी विकास कोष यस विषयमा संवेदनशील भएन । त्यहाँका पुरातात्त्विक स्थलहरूको संरक्षण र सुरक्षा गर्ने दायित्व उसैको हो ।
पुरातत्त्वशास्त्रका दृष्टिले लुम्बिनीसँग सम्बन्धित व्यक्ति वा संस्थाहरू कतिसम्म संवेदनहीन छन् भन्ने कुरा त्यहाँ सूक्ष्म अध्ययन गर्दा थाहा हुन्छ । उत्खननका क्रममा पाइएका स्तुपलगायत भग्नावशेषको पुरातात्त्विक अध्ययन गर्न हाल सहज छैन । कारण, बेग्लाबेग्लै समयमा निर्मित ती स्तुपका इँटा छ्यासमिस पारिएका छन्, जबकि प्रत्येक कालका इँटाको बेग्लै पहिचान छ । अब अध्ययनकर्ताहरू रणभुल्लमा पर्नुपर्ने अवस्था छ ।
अन्य शास्त्रजस्तै पुरातत्त्व पनि एउटा शास्त्र हो । सबै सर्वसाधारणले यससम्बन्धी ज्ञान पाएकै हुनुपर्छ भन्ने मान्यता राखिनु हुन्न । तर, सम्बन्धित पक्षले भने यसबारेमा सामान्यज्ञान मात्रै भए पनि हासिल गरेकै हुनुपर्छ । बुद्धको जन्मस्थल हेर्न भनी दैनिक रूपमा सर्वसाधारणदेखि विद्वत्वर्ग लुम्बिनीको भ्रमणमा सयौँको संख्यामा देशविदेशबाट आइरहेका हुन्छन् । लुम्बिनी अन्य कुनै पार्कजस्तो ठाउँ होइन, पुरातात्त्विक स्थल हो । तर, यहाँ पुरातात्त्विक मूल्य-मान्यताका बारेमा सामान्य ज्ञान नै नभएका वा भएर पनि संवेदनशील नहुने व्यक्तिलाई हेरचाहको जिम्मा दिनु भनेको दूधको साक्षी बिरालोलाई बनाउनुजस्तै हुन्छ । यसको परिणाम यस्तै स्तुपमाथि चढ्न दिने, भगवान्को प्रसाद भन्दै इँटाको धुलो खुर्केर लिने कार्य हुन्छ । त्यसमा चढेर तस्बिर खिचाउँदा त अनेक नकारात्मक सन्देश जाने हुन्छ । यसै त पुरातत्त्वका कुरा संवेदनशील हुन्छन्, त्यसमाथि संवेदनहीन हुँदै लापरबाही गर्न थालियो भने लुम्बिनीको महत्त्व घट्दै जान कुनै आइतबार पर्खनुपर्दैन ।