Tuesday, June 3, 2008

सीमित घेरा तोड्नु पर्छ नेपाल सम्वत् पक्षधरहरूले

- बसन्त महर्जन

प्रत्येक वर्ष लक्ष्मीपूजाको दिन नेपाल सम्वतको वर्षान्त भई कात्तिक शुक्लप्रतिपदादेखि नयाँ वर्षसुरु हुन्छ । यो दुई-चार दिनभित्र धेरै उत्सवको जमघट हुँदा वातावरणमा रौनकता आउँछ नै । तर, ती उत्सवलाई केलाउन र विश्लेषण गर्न नसक्दा भ्रम उत्पन्न हुनेमात्र होइन, भ्रमको खेती गर्न पल्केकालाई समेत प्रशस्त मलजल हुन्छ । प्रसंग नेपाल सम्वत् र यसको नयाँ वर्षो उपलक्ष्यमा हुने गतिविधिको हो र यही प्रसंगमाथि दुई चार प्रश्नसहितको चर्चा यो लेखको सीमाक्षेत्र हुन्छ । नेपाल सम्वत् र भ्रमको खेती नेपाल सम्वत् नेवार समुदायको मात्र सम्वत् हो भन्ने भ्रम रहेको पाइन्छ । यसमाथि चर्चा गर्नुअघि यो सम्वत् सुरु हुँदाको तत्कालीन नेपालको भूगोलबारे गम्नु आवश्यक हुन्छ । हालको काठमाडौं उपत्यका वा तत्कालीन नेपालमण्डल नै नेपालको सीमा थियो र त्यस क्षेत्रका बासिन्दा आजभोलि नेवारको रूपमा चिनिन्छन् । राजा पृथ्वीनारायण शाहपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै नेपाल भयो । एकीकृत नेपालको एउटा प्रमुख विशेषता यसको विविधता पनि हो । नेपालभित्र जहाँ जे भए पनि ती सबै नेपाली नै हुन्छन् । यही राष्ट्रको दर्शन तथा एकताको सूत्र हो । नेपाल सम्वत्लाई आफ्नो काँधमा बोकेर ल्याउने कार्य तत्कालीन नेपालका नेवारले गर्‍यो भन्दैमा त्यो नेवारकै मात्र हुँदैन । तत्कालीन अवस्थामा बनाइएका पशुपतिजस्ता हजारौं ठूलासाना मन्दिर, कैयौं दरबार, पाटी, पौवा, धारा, कुवामात्र नभई नाचगान, भेषभूषा, गीत-संगीत, चालचलन आदिलाई 'नेवार सम्पदा' नभनी नेपाली सम्पदाको रूपमा लिने गरिन्छ । त्यसरी नै सम्वत् पनि नेपाल सम्वत् हो । तर, एक समय सरकारी सञ्चार माध्यम गोरखापत्रकै थुप्रै अंकमा समेत यसलाई नेवार सम्वत् वा नेवारी सम्वत्का रूपमा प्रकाशित गरिएको पाइन्छ । जातीय द्वेष फैलाउन पल्केकाहरूले नै नेपाल सम्वत् र नेवार समुदायलाई एकै ठाउँमा राख्ने र अनावश्यक रूपमा सम्वतविरुद्ध वक्तव्य दिन थाल्दा नेवार समुदायले त्यस्ता हरेक वक्तव्य आफूमाथि धावा बोलेको रुपमा लियो र यस विषयमा धेरैमात्रामा मनोवैज्ञानिक असर पर्‍यो । नेवार समुदाय आफ्नै भाषा, लिपि, साहित्य, संस्कृति आदिले सम्पन्न भएको कुरामा दुई मत नहोला । यस्तो अवस्थामा यो समुदायले हर उत्सवलाई आफ्नै ढंगले मनाउनु स्वाभाविक पनि हो । नयाँ वर्षो शुभकामनाको अनुवाद नेपाल भाषामा 'न्हू दँया भिन्तुना' हुन्छ । शुभकामनाको सोझो र स्पष्ट अर्थ लाग्ने 'भिन्तुना' शब्दमै भाषिक अनभिज्ञता वा अन्य कुराले प्रेरित भई साम्प्रदायिकको आक्षेप लगाउने कार्य बौद्धिक वर्गबाटै हुनु र शुभकामना र्‍यालीमाथि प्रहरी हस्तक्षेप गर्राई सहभागीहरूलाई हिरासतमा लिइएको खबरले भ्रमको खेतीमा प्रशस्तै मलजल मिलेको थियो । नेपाल सम्वत्को पक्षमा रहेकाले पनि यसलाई नेवार समुदायकै रूपमा लिएको पाइन्छ । गैरनेवारहरू यस अवसरमा शुभकामना व्यक्त गर्दा 'भिन्तुना' नै भन्न पुग्छन् । नेपाल सम्वत्को नयाँ वर्षो अवसर पारेर नेपाली भाषाका पत्रपत्रिकाले विशेषांक निकाल्दा पनि नेपाल भाषामा प्रकाशित गरेको पाइन्छ । केही वर्षघिदेखि राष्ट्रियस्तरका दैनिक पत्रपत्रिकाले पनि यसको अवसरमा केही विशेष प्रकाशन गर्दछन् तर तिनले पनि 'न्हूद“या भिन्तुना' वा 'भिन्तुना' शब्द प्रयोग गरेकै पाइन्छ । यस्तो लाग्छ( उनीहरूको बुझाइमा नेवारी शब्द राख्नु अनिवार्य र यस्तो नगरिए नेपाल सम्वत्माथि अन्याय हुन्छ । नेपाल सम्वत् र म्हपूजा नेपाल सम्वत् नेवार समुदायकै हो कि जस्तो लाग्ने अर्को एउटा भ्रम म्हपूजा पनि रहेको छ । यो नेवार समुदायमा प्रचलित बेग्लै पूजा हो । आफूलाई आफैंले पूजा गर्ने र सुख-शान्तिको कामना गर्ने यो पूजा पनि नेपाल सम्वत् फेरिने दिनमै पर्दछ । म्हपूजा नेवार समुदायको एउटा प्रमुख र आवश्यक कार्य भएकोले नेपाल सम्वत् सुरु गरी म्हपूजा गर्ने चलन चलाएको भन्ने भ्रम उत्पन्न भएको हो । पूर्वीय मतअनुसार कात्तिक शुक्ल प्रतिपदालाई शुभ दिनका रूपमा लिने भएकाले संयोगले यी दुवै एकै दिनमा परेको हुनसक्छ । नेपाल सम्वत्भन्दा अघिल्ला सम्वत्हरूको वर्षफेरिने दिन पनि यही दिन परेकाले यस्तो अनुमान लगाउन सकिन्छ । तर, नेपाल सम्वत् यो वर्षभर्खर ११२४ पुग्छ भने म्हपूजाको प्रचलन आजभन्दा १५ सय वर्षघि नै देखिने ऐतिहासिक लिखत पाइन्छ । नेपाल सम्वत् र नेवार समुदाय नेपाल सम्वत्लाई नेवार समुदायभित्र लेखापढी र हिसाब-किताबमा मात्र सीमित नराखी शुभकामनाको आदान-प्रदान र व्यापकता दिने कार्यमा नेपाल भाषा मंकाः खलःको योगदानलाई नकार्न सकिँदैन । नयाँ वर्षो अवसरमा शुभकामना दिन र्‍याली र र्सार्वजनिक समारोहहरू नै आयोजना गर्न थालेको पनि बीस-बाइस वर्षभयो । तत्कालीन पञ्चायती व्यवस्थामा यस्ता सभा, सम्मेलन, र्‍यालीजस्ता कार्यक्रम आयोजना गर्नु कठिन कार्य थियो । नयाँ वर्षो उपलक्ष्यमा शुभकामना र्‍यालीसँगै यस सम्वत्लाई सरकारी मान्यताको माग पनि राखियो । यसको आयोजना नेवार समुदायबाट भएपछि यस अवसरमा आफ्ना अन्य कुरा पनि राख्ने त भइहाल्यो । राजा पृथ्वीनारायण शाहको लगत्तै नेवार समुदायले आफूमाथिको थिचोमिचो अनुभव गर्नु नपरे पनि राणाकालको सुरुसँगै भाषालगायतका कुरामा राज्य पक्षबाट थिचोमिचो गरेको कटु अनुभव गर्नुपरेको थियो । राजा प्रतापसिंह शाहको बेलासम्म नेपालको वैदेशिक सन्धि-सम्झौताहरू नेपाल भाषामा पनि हुन्थ्यो भने राजा राजेन्द्रविक्रम शाहले त नेपाल भाषाको साहित्यमा आफूलाई एक लेखकका रूपमा स्थापित गर्दै 'महासत्वपाख्याना' नाटक नै लेखेका थिए । शाहवंशीय राजाहरू नेवार समुदायको भाषा, साहित्य, संस्कृत्रि्रति सकारात्मक देखिए पनि जहानियाँ राणा शासकहरूको उदयसँगै नेवार समुदायलाई दमन गर्ने क्रम बढेको हो । नेपाल भाषामा लेखिएका लिखतले सरकारी मान्यता नपाउने उर्दीमात्र जारी गरिएन, टेलिफोनमा कुरा गर्दासमेत उक्त भाषा प्रयोग गर्नमा बन्देज लगाइयो । मातृभाषाको मोहमा एउटा सामान्य कविता लेखेबापत पनि जेल सजाय भोग्नुपरेका नेवारहरू र राणाकालपछि पनि त्यस्ता कटु अनुभव गर्नुपरेपछि असन्तुष्टि हुनु स्वाभाविक हो । पञ्चायत कालमा सम्वत्लाई सरकारी मान्यता दिलाउन नारा लगाउँदा यो समुदायले भाषिक अधिकारको कुरा पनि अघि सार्‍यो । यस्ता कुराले पनि नेपाल सम्वत् नेवार समुदायको मात्रै हो कि भन्ने भ्रम परेको हुनसक्छ र भाषिक कुराप्रति विमति राख्नेहरूले सम्वत्लाई पनि तोडमतोड गरेर यसलाई खुम्च्याउनतिर लागे । सरकारी मान्यता र यसको औचित्य यो तथ्यपूर्ण कुरा हो कि, संसारमा एउटैमात्र यस्तो सम्वत् छ, जसको नाम राष्ट्रको नामबाट रहेको छ । नेपालबाटै सुरु भएको यो सम्वत् राष्ट्रिय सम्वत् त हुँदै हो । नेपाल सम्वत्का पक्षधरहरू यसलाई सरकारी मान्यता दिलाउन चाहन्छन् । प्रत्येक वर्षनिस्कने शुभकामना र्‍यालीमा एउटा नारा हुने गरेको छ- नेपाल सम्वत् राष्ट्रिय सम्वत्, सरकारी मान्यता पाउनर्ैपर्छ । विवादको कुरा सरकारी मान्यतासम्बन्धी पनि रहेको छ । यो त नेवार समुदायको सम्वत् हो, कसरी राष्ट्रिय हुन्छ र सरकारी मान्यता दिन मिल्छ भन्ने प्रश्न उठाइएको पाइन्छ । सम्वत्सँग नेवार समुदायको कुराको खण्डन त माथि भइसक्यो र रह्यो सरकारी मान्यताको । नेपाल सम्वत् अराष्ट्रिय सम्वत् र हिजोआजमात्र प्रचलित भएको होइन । तत्कालीन राजाको स्वीकृतिबाट चलाइएको यो एकताका राज्यको एकमात्र संवत्को रूपमा प्रचलनमा रहेको थियो । आफ्नो निधिको रूपमा देखाउन पाउने यो सम्वत्लाई सरकारी मान्यता दिएरै पनि वर्तमान नेपाललाई के नै पो घाटा हुन्छ र ? विवाद गर्नेहरूको एउटा मत छ, नेपालमा विक्रम सम्वत् र इस्वी सम्वत् गरी दुई वटा चल्तीमा छन्, फेरि नेपाल सम्वत्लाई पनि मान्यता दियो भने काम गर्न अप्ठ्यारो हुँदैन र ? साँचो कुरा त के हो भने, हामीलाई तीनवटा सम्वत्को त के कुरा, दुई वटा पनि बढी छ । यो त दैनिक र व्यावहारिक कामकाजलाई सजिलो पार्ने कुरामात्र हो । नेपाल सम्वत्का पक्षधरलाई चोट लाग्ला तर जसरी विक्रम सम्वत् वैज्ञानिक छैन, त्यसरी नै नेपाल सम्वत् पनि वैज्ञानिक र व्यावहारिक छैन । दैनिक कामकाजमा यसले कहिलेकाहीँ त द्विविधामा पनि पार्दछ । नेपालमा विक्रम सम्वत्को प्रयोग अचम्मलाग्दो छ । यो सम्वत्सँग नेपालको गोरु बेचेको साइनोसम्म पनि लाग्दैन । लिच्छवीकालमा विभिन्न सम्वत् प्रचलित थिए भने मध्यकालमा नेपाल सम्वत्ले ठाउँ पायो । राजा पृथ्वीनारायण शाहले शक सम्वत्लाई पुनर्स्थापित गरेको पाइन्छ । तर, पुनर्स्थापित शक सम्वत्लाई राणाकालमा किन विस्थापित गरियो भन्ने खोजीको विषय हो भने नेपाल सम्वत्का विरोधीहरू विक्रम सम्वत्को पक्षमा नजानिँदो पाराले लागेका छन् । विक्रम सम्वत्सँग यतिबिघ्न मोह वा आसक्ति किन हो, बुझ्न सकिँदैन । आफ्नो जन्मभूमि भारतमै व्यापकता नपाएको विक्रम सम्वत्लाई नेपालमा राज्यले नै काखी च्यापेर हिँड्नुको औचित्य छैन । कुन सम्वत्लाई कसरी लिने ? माथि भनियो, नेपाल सम्वत् पनि वैज्ञानिक, व्यावहारि र व्यापक छैन । भावुकतामा बगेर यसलाई नै सरकारी कामकाजको सम्वत् बनाउनु पर्छ भन्नु कट्टरता हुन्छ । यो सम्वत्मा भएका कमीकमजोरीमा परिमार्जन तत्काल सम्भव पनि देखिँदैन । विक्रम सम्वत्मा पनि नेपाल सम्वत्जस्तै वैज्ञानिकता, व्यावहारिकता र व्यापकता छैन । यस्तो समान समस्या रहेको अवस्थामा विक्रम सम्वत्लाई मात्र काखी च्यापेर स्वदेशी नेपाल सम्वत्लाई पाखा लगाउनु राष्ट्रिय गौरवको विषयमा उचित होइन । फेरि, एउटैमात्र सम्वत् चलाउनु व्यावहारिक हुने अवस्थामा कुनै ऐतिहासिक, राजनीतिक, सामाजिक, आर्थिक सम्बन्ध नभएको विक्रम सम्वत्लाई विस्थापित गरी इस्वी सम्वत्लाई प्राथमिता दिनुपर्ने देखिन्छ । इस्वी सम्वत्को प्रयोगबिना वर्तमान नेपाल चल्नै नसक्ने भएको छ । चीन, जापानजस्ता समृद्ध प्राचीन सभ्यता भएको र अहिले पनि विश्वशक्तिको पर्यायकै रूपमा रहेकाहरू पनि अहिले इस्वी सम्वत्लाई प्रमुख रूपमा प्रयोग गर्दछन् । यसको कारण हो- आफूसँग भएका कैयौँ सम्वत्को तुलनामा इस्वी सम्वत् बढी वैज्ञानिक र विश्वव्यापी प्रयोगमा छ । अनि नेपाल सम्वत्लाई के गर्ने त - भन्ने सवाल पनि स्वाभाविक रूपमा उठ्छ । नेपाल सम्वत् विक्रम सम्वत्जस्तो विदेशी सम्वत् नभएर नेपालकै माटोपानीमा हुर्केर अहिलेसम्म प्रचलित रहेकोले उच्च सम्मान दिनु पर्दछ । उच्च सम्मानको अर्थ राष्ट्रिय भावनाको विकास गर्न र उपयोगी ठाउँमा प्रयोग गर्नु हो । नेपाल सम्वत्को सम्मान कसरी गर्ने ?यसमा दुई मत नहोला कि, नेपाल सम्वत्ले शनैःशनैः व्यापकता पाउँदै गएको छ । हिजो काठमाडौं उपत्यकामा सीमित सम्वत्ले अधिराज्यव्यापी प्रचारप्रसार पाउनु आफैंमा यसको सम्मान हो । नयाँ वर्षो शुभकामना आदान-प्रदान हुन्छ, शुभकामना र्‍यालीलगायत विभिन्न कार्यक्रम आयोजना गरिन्छ । विभिन्न गतिविधिले यहाँ आफ्नै प्रकारको रौनकता बढाउँछन् । तर, समय र परिस्थितिअनुसार यी गतिविधि सञ्चालित छन्-छैनन् समीक्षा गर्नु पनि उत्तिकै आवश्यक छ । आज नेपाल सम्वत्सम्बन्धी जति गतिविधि बढे पनि त्यो दर्ुइ दसकअघिको विस्तारित रूपमात्र हो, नयाँ सोचाइ र योजनाको अभाव छ । जसरी हिजो नेवार समुदायकै वर्चस्व थियो, आज पनि त्यस्तै छ । मानौँ, यो नेवार समुदायको मात्रै हो । यस अवसरमा प्रयोग गरिने नारा पनि हिजो जस्तो थियो, त्यस्तै छ । नेवार जातिलाई हिजोका दिनमा आफ्नो भाषिक अधिकारको कुरा सडकमा उठाउने एउटा मञ्च थियो । तर, आज त्यसका लागि अलग्ग्ौ कार्यक्रम बनाउन सकिन्छ । यसरी नै नेपाल सम्वत् जति पनि कार्यक्रम मनाइन्छ वा नारा लगाइन्छ, वर्षो एकपल्टमात्र हुन्छ । शुभकामना र्‍यालीमा गम्भीरता पाइँदैन । हिँडेर गरिने र्‍याली होस् या मोटरसाइकलमा गुडेर, मानिसहरू मनोरञ्जनबाट प्रेरित देखिन्छन् । यसरी नै शुभकामना र्‍याली राजनीतिक पार्टी लागि शुभकामनाका नाममा राजनीतिक गतिविधि बढाउने राम्रो अवसर भएको छ । काठमाडौंमा हुने शुभकामना र्‍यालीमा ती पार्टी नेता तथा कार्यकर्ताको ओइरो त लाग्छ तर उनीहरू नेपाल सम्वत्को महिमा बुझेर आएको भनिहाल्न मिल्दैन । पार्टीलाई यसको आवश्यकता बोध भएको भए काठमाडौंमा मात्रै, त्यो पनि नेवार बस्तीमा मात्रै किन आउनुपर्‍यो - मेचीदेखि महाकाली र हिमालदेखि तर्राईसम्म यसको आह्वान किन गरिँदैन ?नेपाल सम्वत्लाई व्यापकता दिने कार्यमा नेपालभाषा मंकाः खलःले अगुवाइ त गर्‍यो तर यो नेवार समुदाय र नेवार बस्तीमै सीमित छ । अन्य समुदायबीच नेपाल सम्वत्का लागि आफूजस्तै संगठन बनाउन यसले सकेन वा ध्यान दिएन । नेपाल सम्वत् आफ्नो समुदायको मात्र निधि भएको आशय त यसले व्यक्त गरेको पाइँदैन तर यसमा अरूलाई पनि समेट्दै लाने योजना बनाएको पाइँदैन । आफू नेवार संगठन भएको नाताले नेवार समाजमै सीमित हुन नपाइने पनि होइन । तर, यसलाई नेवारभित्र सीमित राखिँदा यसको गरिमा र महिमा संकुचित हुन जाने डर पनि रहेकोले अगुवाका नाताले यसलाई राष्ट्रव्यापी बनाउन पहल गर्नु मंकाः खलःको दायित्व हुन्छ । तर, मंकाः खलः काठमाडौं जिल्लाभित्र पनि सानो भूगोलमा सीमित भई एउटा शुभकामना र्‍याली र रक्तदान तथा टेबुलटेनिस प्रतियोगिताजस्ता झिनामसिना कार्यक्रममा अल्भिmरहेको छ । फेरि अर्को कुरा त के हो भने, नयाँ वर्षो अवसरमा मंकाः खलःद्वारा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्रीको उपस्थिति त हुन्छ तर त्यसमा सशक्तता हुँदैन । प्रमले पनि केही आश्वासनसहित नेपाल सम्वत्लाई नेवार समुदायकै मात्र भएजस्तो भ्रम हुनेगरी भाषण दिएर जान्छन् र वर्षदनसम्म केही गरिँदैन । मंकाः खलः स्वयंले पनि वर्षा एकपल्ट कार्यक्रम आयोजना गरेर औपचारिकता निर्वाह गर्नुबाहेक केही गर्न सकेको छैन । नेपाल सम्वतको प्रवर्तकका रूपमा लिइएका शंखधर साख्वाःलाई राष्ट्रिय विभूतिका रूपमा घोषणा गरिए पनि यसलाई सम्वत्लाइ सरकारी मान्यता दिएको वा नदिएको स्पष्ट नहुँदा अन्योल कायमै छ । प्रवर्तक नै राष्ट्रिय विभूतिका रूपमा घोषित भएपछि नेपाल सम्वत्ले सरकारी मान्यता पाएको रूपमा हेर्न सकिन्छ र सरकारी मान्यता पाउनुपर्ने माग भइरहनुको औचित्य देखिँदैन ।

No comments: