Sunday, May 8, 2011

लुकाइने कुरा लेखिएपछि

बसन्त महर्जन

‘‘मेरा कथा’’ अर्थात् कमला दासको कथा । कमला दास अर्थात तीसभन्दा बढी उपन्यास र तीन कविता संग्रहकी स्रष्टा । उपन्यास मलायम भाषा र कविता अंग्रेजी भाषामा लेख्छिन् तर प्रायः काम विभिन्न भाषामा अनुवाद छन् । एउटा आत्मकथात्मक पुस्तक हो – मेरा कथा । मेरो कथा अर्थात कमला दासको कथा । यो पढ्दै गर्दा अचम्मको महसूस पनि गर्दै गरें, विशेषतः त्यसमा अभिव्यक्त जीवनका भोगाई र सोचाइ मात्र नभएर प्रायशः सकभर लुकाइने यौन जीवनका विविध पक्षलाई खुलस्त पारिएको कारण ।

‘‘मेरी आमालाई बासित अलिकति पनि प्रेम थिएन’’– आमाबाबुको सम्बन्धका बारेमा उनी खोल्छिन्– ‘‘उनीहरूको त्यो सम्वन्ध बेमेल हो । तर मेरी आमाको कायरताका कारण सबै कुरा ठिकठाक भइराखेको भ्रम आफन्त र साथीभाइलाई भइरहेको रहेछ ... ।’’

कमला दासकी आमा स्वयं कवयित्री थिइन्, आफ्नो जमानाकी । प्रसिद्ध परिवारकी छोरी कमला दासले आफ्नो कथा बताउने क्रममा यस्ता यस्ता कथाहरू पनि उल्लेख हुन गयो कि एक प्रकारले ‘हिप्पोक्रेट’हरूको अन्तपुरमा भूकम्प र्नै गयो । लेखिकाले आफ्नो आमाबाबुको सम्बन्धलाई लिएरमात्रै लेखेकी छैनन्, बरु आफ्ना त्यस्ता साथीभाईहरूका बारेमा पनि लेखिन् जो समलिंगी हुन्– लेखिकासँग सम्बन्ध राखेर जान्छन् । आफूले देखेको, स्कूलमा मास्टरको गुप्त सम्बन्ध, बोर्डिङ स्कूलमा एउटी छात्राले अर्की छात्रालाई गर्ने प्रेमका सम्वन्धमा मात्रै लेखिनन्, एनी नाउँकी पन्द्रह वर्षिया किशोरीका बारेमा पनि लेखिन् जसले आफने नाममा आफैंले प्रेमपत्र लेखी कमला दासलाई देखाउँथिन् । एक दिन त आघिल्लो रात एउटा केटा ओछ्यानमा सुत्न आयो, टोकेर घाउ नै बनाईदियो भनी कमला दासलाई देखाउन आई, झूठो कथा बनाएर । यी त अर्काको कुरा भए, स्वयं कमला दासकै परिवारका एक कामकु पुरुषले आफ्नो शरीरको सम्बेदनशील अंगमा चिमोटेको कुरा पनि उनले लेखेकी छन् ।
कमला दासको जीवनमा थुप्रै पुरुषहरूले प्रवेश गरे तर जीवनका लागि काम लाग्दा एउटा पनि भेटिएन । लोग्नेका रुपमा त एउटै मात्र पुरुष थिए तर लोग्नेकै बारेमा लेख्छिन्– ‘‘मेरो मनमा एउटै मात्र कुरा खेलिरहन्छ, कसैलाई प्रेम गरुँ । काश ! कोही भइदिए ... ।’’

कमलादासको विवाह एक समलैंगिक सम्वन्ध पनि राख्ने पुरुषसँग भएको थियो । वास्तवमा कमलादास एउटी ‘कूल वूमन’ हुन्, उनी लेख्छिन् – क्ष् मष्म लयत पलयध धजबत कभहगब िमभकष्चझभलत, लयत जबखष्लन भहउभचष्भलअभम ष्त भखभल यलअभ। यस्ता महिलासँग एउटा कामकु पुरुषले कसरी दाम्पत्य जीवन बिताए होला् ? उनकै अुनसार लोग्नेले आफूलाई नभई खानदान हेरेर विवाह गरेका हुन् । आत्मकथाको अन्त्यतिर लेख्छिन्– ‘‘महसूस गर्नु त अर्कै कुरा, मैले त सेक्सको अभिनयसम्म पनि गर्न सकिनँ । आफ्नो शरीरलाई लोग्नेको पौरुषत्वका लागि अलिकति मात्रै सन्तुष्ट पार्न पनि मलाई विभिन्न प्रकारको औषधि खानु पर्छ ।’’
विवाहपछि, अझ तीन सन्तानको आमा भइसक्दा पनि कमलादास एक हितैषी पुरुषकै खोजीमा थिइन्, जोसँग भित्री मनका कुरा भन्न पाइयोस् । यस क्रममा जति पनि पुरुषहरू आए तिनीहरू सबैका सम्वन्धमा वर्णन गरिएका छन् । यस्तै गरी एक ठाउँमा लेख्छिन्– ‘‘ हाम्रा एक जना छिमेकी थिए । अधबैंसे तर बलिष्ठ । म प्रायः श्रीमानसँग उनको घरमा जान्थें । उनी हामीलाई उममा ख्वाउँथे । सर्वत पनि पिलाउँथे । हामी उनलाई अंकल भन्थ्यौं । कहिलेकाहीं मलाई संस्कृत पनि पढाउँथे । तर उनको उच्चारणले खुबै हँसाउँथ्यो । एक पल्ट विरामी भएँ । वायु रोग लाग्यो । उनी हाम्रोमा आए । मेरो जुन गोडामा पीडा भइरहेको थियो, त्यसलाई मालिस गरिदिए । मालिस गर्दागर्दै उनले आफ्ना अफिसका साथीहरूको उटपट्याङ कुरा सुनाएर हँसाए । उनले कहिल्यै मलाई मेरो नाम लिएर बोलाएनन् । थाहा छैन, किन हो कुन्नि उनी मलाई सावित्री भनेर बोलाउँथे । उनलाई धर्मशास्त्रमा रुचि थियो । जब मेरा श्रीमानका आफन्तले उनको र मेरो सम्बन्धलाई लिएर विभिन्न कुरा गर्न थाले, मेरो मनमा एकाएक ती अधबैंसे मानिसप्रति वितृष्णा भयो । हुनुपर्ने त ती घटिया कुराहरूप्रति थियो ।’’
त्यस्तै अर्को एक ठाउँमा लेख्छन्– कलकत्ता आएपछि पहिलो गर्मीमा बम्बईबाट एक जना परिचित आए । ऊ जुन होटलमा बसेको थियो, नास्ताका लािग त्यहाँको कोठामा निमन्त्रण दियो । ऊ पढेलेखेकोले समझदार मानिस थियो । मेरो कमजोरी थियो, साहित्यबाहेकका अरु विषयमा कुरा गर्न नरमाइलो मान्थें । अतः ऊसित साहित्यका कुरा गर्न रमाइलो थियो । तर अचानक के भयो भन्दाखेरी उसले आफ्नो हात मेरो तिघ्रामाथि राख्यो । मलाई लाग्यो, थाहा नपाई यस्तो भएको होला । तर उसले त सुम्सुम्याउन थाल्यो र हात अझ तल तल लग्नथाल्यो । म झस्कें । के हुन लागेको हो यो ? यो सही हो कि, मलाई धेरै पुरुषले प्रेम गरेका छन् तर कसैले पनि आफ्नो यौन चाहना यसरी प्रकट गरेका थिएनन् । मलाई सँधैं यस्तो प्रेम प्राप्त भएको थियो – जस्तो मानिस आफ्नी बहिनीलाई दिन्छन् । तर त्यो मानिसको व्यवहारले अचम्ममा पा¥यो । पछि त उसको बानी नै बनेको थियो– कुराकानीका क्रममा आफ्नो हत्केला मेरा तिघ्रामा खेलाउने । मेरो कालो लामो केश सुम्सुम्याइरहने । मैले विस्तारै उनलाई प्रेम गर्न थालेकी थिएँ । एक दिन उनले मलाई अँगालो मारेर चुम्बन गर्न खोजे । मैले कुनै प्रतिकार गरिनँ । जब उनले मलाई छाडे, मैले सोधें– ‘के तिमी मलाई प्रेम गर्छौ ? ’’

मैले श्रीमानलाई यो कुरा सुनाएँ, उनले यस्ता पुरुषहरूसित जोगिएर हिड्न चेतावनी दिए ।’’

आत्मकथा विरामी अवस्थामा अस्पतालको शै®यामै लेखेकी हुन् । पहिले त एक पत्रिकाका लािग साप्ताहिक रुपमा छापिने गरी धारावाहिक लेखेकी थिइन्, पछि तिनै कुरा पुस्तकका रुपमा छापिएको हो । यो कथा पछि मात्रै पुस्तकको रुपमा प्रकाशित भएको थियो । यसै त आफन्तहरूबाट एक्लिंदै गइरहेकी, अर्थात् थोरै मात्र आफन्त भएकी, उसमाथि यो आत्मकथात्मक कुराहरू पत्रिकामा धारावाहिक रुपमा छापिँदै जाँदा क्रमश घटेर कथाको अन्तिम भाग छापिंदासम्ममा त एक जना पनि आफन्त बाँकी रहेन ।
‘मेरो कथा’का सम्वन्धमा लेख्दा लेखिकाको यौन जीवनका कुराहरू नै बढी लेखियो । यसको अर्थ यो होइन कि उक्त आत्मकथामा यौनकै कुराहरू मात्र छन् । आफ्नो जीवनकथा लेखनका क्रममा प्रसंगवस आएका यौनसम्बन्धी कुराहरू मात्रै यहाँ पनि उप्काइएको हो । प्रायः आत्मकथाहरूमा लुकाइने यो पाटोलाई लेखिकाले देखाएकी छन् । यो नै पुस्तकको मुख्य विशेषता हो र यसैका कारण पनि पुस्तक चर्चित बनेको हो । पुस्तकबाट यौन र यौनिक कुराहरू हटाइदिँदा पनि आत्मकथा राम्रै खालको बन्छ तर आम पुस्तकहरूजस्तै हुन्थ्यो होला । पुस्तकमा उनी जन्मेको समाज, तत्कालीन आर्थिक, सामाजिक, शैक्षिक तथा जीवनशैलीका बारेमा पनि थुप्रै कुराहरू उल्लेख छन् ।

‘‘मेरो कथा’’ कुनै कुराको प्राप्तीका लेखिएको थिएन तर पुस्तकले आफूसँग भएको कुरा धेरै नै छिनेको कुरा उल्लेख गरेका छन् । यसै सन्दर्भमा उनी पुस्तकको भूमिकामा लेख्छिन्– यो पुस्तकले मेरा धेरै कुराहरू खोसेको छ । यस्ता कुराहरू जो मेरा प्रिय छन् । तैपनि यो पुस्तक लेखेकोमा मलाई कुनै पनि प्रकारले पश्चाताप छैन । मैले थुप्रै पुस्तकहरू लेखें तर कसैले पनि ‘मेरो कथा’ले जत्तिको सन्तुष्ट पारेन ।

नेपालमा विक्रम सम्बत

  • बसन्त महर्जन

विक्रम सम्बत भारतमा स्थापना भएका अनेकौं सम्बतहरूमध्ये एउटा सम्बत् हो । भारतका विभिन्न ठाउँहरूमा अझै पनि स्थानिय रुपमा प्रचलनमा रहेको यो सम्बत वर्तमान नेपालमा भने राष्ट्रिय सम्बतकै रुपमा घोषित नभएपनि राज्यले कामकाजको सम्बतको रुपमा प्रयोग गर्ने गर्दछ । व्यावहारिक रुपमा राष्ट्रिय सम्बत नै भएको छ । यो सम्बत कहाँबाट, कसरी वा किन स्थापना भयो भन्ने पृष्ठभूमिका सम्बन्धमा कुनै ऐतिहासिक ठोस तथ्य नपाइएकाकारण अनुश्रुतिहरू र अनुमानमा नै भर पर्नु परेको छ ।

अनुश्रुतिहरूका अनुसार यो सम्बत राजा विक्रमादित्यसँग सम्वन्धित रहेको छ । एक समय वर्तमान भारतको उज्जैनमा शकहरूको भयङ्कर आक्रमण भएको थियो र उक्त आक्रमणका कारण उज्जैनका तत्कालीन राजा जंगलमा भाग्नु परेको थियो । राजाको मृत्यु त्यहीं भयो । तर पछि उनै राजाका छोरा विक्रमादित्यले सैन्यशक्ति संचय गरी भीषण आक्रमणपश्चात शकहरूमाथि विजय प्राप्त गरेका थिए । उज्जैनमा शकहरूमाथि विजय हासिल गरेको खुशीयालीमा उनै राजाको संस्मरणमा नयाँ सम्बत चलाइएको थियो भन्ने जनश्रुति रहेको पाइन्छ ।

सुरुमा यस सम्बतको नाम विक्रम सम्बत भनेर नामाकरण गरिएको थिएन, अन्य सम्वत्हरूको सुरुवातमा जस्तै ‘सम्बत’ मात्रै भनिन्थ्यो । पछि मात्रै सम्बतको नाम ‘विक्रम’ राखिएको देखिन्छ । विक्रम सम्बतका सम्वन्धमा बढी प्रचलित अनुश्रुति यही भएरपनि भारतीय इतिहास अध्ययनमा यसले खासै महत्व राख्दैन । अनुश्रुतिमा उल्लेखित विक्रमादित्य राजा को हुन् भन्ने प्रश्न नै ठूलो चुनौती भइरहेको छ । तर सम्बतको प्रचलन भने हुँदै आइरहेको छ ।

नेपालमा विक्रम सम्बतको प्रचलन

नेपालमा विक्रम सम्वतको प्रचलन कहिलेदेखि प्रयोग भयो भन्ने सम्बन्धमा ठ्याक्क यति नै समयदेखि भनी जवाफ दिन कुनै लिखत छैन । तर अभिलेखहरूमा यसको प्रयोग भएको अभिलेख हालसम्म प्राप्त भएकामध्ये सबैभन्दा पुरानो राजा धर्म मल्लको ललितपुर सुनधारास्थित ने।सं। ५२४ ९विक्रम सम्वत १४१६० को एउटा अभिलेख हो । यसरी नै राजा जितामित्र मल्लको भक्तपुर राजदरवार कुमारी चोकको शिलालेख पनि हो । यसै गरी राजा भूपतीन्द्र मल्लको ने।सं। ८२६ सालको अभिलेखमा पनि विक्रमसम्बतको प्रयोग भएको छ । विक्रमसम्बत प्रयुक्त यी तीन वटै अभिलेखमा एउटा समानता के पाइन्छ भन्दाखेरी त्यहाँ विक्रम सम्बत एउटै मात्रै प्रयुत्त छैनन्, अन्य सम्बतहरूका साथमा यसको उल्लेख गरिएको हो । यसबाट बुझिन्छ, तत्कालीन समयमा विक्रमसम्बतले नेपालमा पहिचान बनाइसकेको भएतापनि यसैको प्रधानता भने थिएन । तर यसको व्यापक प्रचलन भने इतिहासको एउटा मोडमा आएर विसं। १९६० बाट राजकीय सम्मानका साथ चलाएको थियो ।

नेपालमा विक्रमसम्वतको प्रचलनका सम्वन्धमा भुवनलाल प्रधान– ‘‘महाराज चन्द्रशमशेरले त्यसताका प्रचलित शकसम्बत्को चन्द्रमानलाई गते सहितको सौरमानअनुसार विक्रमसम्बत चलाएकोमा राष्ट्रिय, साँस्कृतिक आधारभन्दा सरकारी खर्च किफायत गर्ने दृष्टिकोण थियो । त्यसताका प्रचलित चान्द्रमास र तिथिअनुसार कर्मचारीहरूलाई तलब दिइन्थ्यो । यसरी मलमास परेको सालमा ते¥ह महिनाको तलव दिनु पर्ने हुन्थ्यो । त्यसबेला ललितपुर निवासी एकजना चाकडीवाज नायब सुब्बाले गतेसहितको विक्रम सम्बत्को सौर मास चलाएमा त्यसरी ते¥ह महिनाको तलब दिनु नपर्ने हुन्छ भन्ने सुझाउ चन्द्रशमशेरलाई दिए । तपाईंलाई थाहा नै होला चान्द्र मासअनुसार ३५४–५ दिनको एक वर्ष हुन्छ, गते अनुसार ३६५ दिनको एक वर्ष हुन्छ । यसरी वर्षको दश दिन किफायत हुने सुझाउ चतुर प्रशासक चन्द्रशमशेरले किन छाड्थे रु उनले तुरुन्तै उक्त नायव सुब्बाको सुझाउअनुसार गतेसहितको विक्रमसम्वत सरकारी काममा लागू गरे ।’’

उक्त विवरणअनुसार विक्रम सम्वतलाई प्रचलनमा ल्याउनुको प्रमुख कारण चान्द्रमासलाई विस्थापन गरी सौर्यमासको क्यालेण्डरलाई स्थापित गर्नु थियो । आजभोलि धेरैलाई के लाग्ने गरेको छ भन्दाखेरी पहिल्यैदेखि राज्यस्तरबाट चल्दै आएको नेपालसम्वतलाई हटाई भारतमा प्रचलिन विक्रम सम्बतलाई नेपालमा राष्ट्रिय सम्बतका रुपमा चलाइएको हो । तर यो गलत बुझाइ हो । राज्यस्तरबाट चल्दै आएको नेपालसम्बतलाई यसअघि नै बन्द गरी त्यसको ठाउँमा शकसम्बत चलाइएका थियो । शकसम्बत पनि चान्द्रमानअनुसार नै चल्दथ्यो । नेपालसम्बत पनि चान्द्रमानअनुसार नै चल्ने भएका कारण तत्कालीन शासकहरूको आँखा नेपाल सम्बततर्फ जाने कुरै भएन । अझ नेवार सभ्यतासँग सम्वन्धित कुराहरूलाई शनैःशनैः विस्थापित गरेर त्यसको ठाउँमा अन्य सभ्यताका कुराहरू स्थापित गर्ने सोचाइको विकास भइरहेको तत्कालीन अवस्थामा पुनः नेपालसम्वतलाई नै प्रचलनमा ल्याउनु कल्पनातीत कुरा हो । एक समय विक्रमसम्बतको नामै परिवर्तन हुने गरी त्यसलाई नेपालसम्बत नाम दिन खोजेको पनि पाइन्छ । यसको राम्रो उदाहरण तत्कालीन गोरखापत्रमा देख्न पाइन्छ, नाम नेपालसम्बत तर सम्बतको गणना विक्रमसम्बतको । किन हो कुन्नी कालान्तरमा पुनः विक्रम सम्बत नै भनियो । राज्यले विक्रमसम्वतको प्रयोग गर्दा पनि जनस्तरमा भने नेपालसम्बत नै दैनिक जीवनमा प्रचलन रहेका कारण यसलाई पूर्णतः विस्थापित गर्न विक्रम सम्बतको नाउँ फेरेको हुनु धेरै संभव छ ।

वर्तमानमा विक्रमसम्वत

वर्तमान नेपालमा विक्रमसम्वतले यति धेरै जरा गाडिसकेको छ कि, मानौं यो नेपालकै देन हो । कतिपय लेखकहरू त यसको स्थापना नेपालबाटै भएको भन्ने कुरा स्थापित गर्न कार्यकर्ताकै रुपमा अघि बढिरहेको पाइन्छ । नेपालसम्बतले राष्ट्रिय मान्यता पाउनु पर्ने माग राख्दै आन्दोलनरत्हरूलाई जवाफ दिनकै लागि विक्रमसम्बत पनि नेपालकै सम्बत हो भन्नु गैर प्राज्ञिक काम हो र यसले इतिहास र अनुसन्धान भन्ने कुरालाई नै निमोठ्न खोजेको संकेत दिन्छ । विक्रमसम्बतका सम्वन्धमा भारतमा प्रचलित किम्बदन्तीलाई नेपालमा बेर्ना सारेजस्तै सार्न खोजेको हो कि जस्तो पनि लाग्छ । विक्रमसम्वतसँग नेपालको कुनै साइनो छैन, शकसम्वत र इश्वीसम्बतजस्तै हो यो पनि । विक्रम सम्वतसँग नेपाली संस्कृतिको घनिष्टम सम्बन्ध रहेको र यो सम्बत नरहे नेपाली संस्कृति पनि नरहने चिन्ता विक्रमसम्वतका पक्षधरहरूको रहेको छ जुन नेपाली संस्कृतिको सामान्य ज्ञान पनि नहुनुको द्योतक हो । दशैं, तिहारलगायतका नेपाली चाड पर्व तथा अन्य साँस्कृतिक गतिविधिहरूसँग विक्रम सम्बतको गोरु बेचेको साइनो पनि छैन । अधिकांश नेपाली संस्कृति सौरमानअनुसार नभएर चान्द्रमानअनुसार चल्दछ । सौरमानअनुसार चल्ने विक्रमसम्वत एउटै मात्र होइन, संसारमा अनेकौं छन् र नेपालमा विक्रमसम्बतअनुसारको नयाँ वर्ष मनाइराखेकै दिन असाम, बंगाल, महाराष्ट्र, बर्मा, क्याम्बोडिया, केरला, मणिपुर, ओरिसा, पन्जाब, श्रीलंका, तामिलनाडू लगायत अन्य भूभागहरूमा अर्कै नाउँको सम्बत अर्के गणनाअनुसार नयाँ वर्ष मनाइराखेका हुन्छन् ।

नेपालसम्वत पक्षधरहरू आफ्नै देशमा स्थापित र देशकै नामबाट रहेको नेपालसम्बतलाई राष्ट्रिय सम्वतका रुपमा मान्यता दिइनु पर्छ भनी माग गर्दछन् भने विक्रमसम्वतका पक्षधरहरू नेपालसम्वत नेवार समुदायको मात्रै भनी कहिलेकाहीं होच्याएर ‘नेवारीसम्वत’ वा नेवारसम्वत’ भनी सरकारी समाचार पत्रमा उल्लेख गर्ने गरेको पनि पाइन्छ । यो दुई पक्षको विवादले नजानिंदो पाराले दुई सम्वत आपसमा प्रतिस्पर्धीजस्तो पनि देखिन पुगेको छ साथै सम्वतकै नाममा यहाँ थुप्रै गतिविधि पनि हुने गरेको छ ।

(प्रकाशोन्मुख पुस्तकको एक अंश, हसना म्यागेसजिन वर्ष ६ अंक ४७, २०६८ मा प्रकाशित)

Monday, May 2, 2011

सञ्चार सन्दर्भ ग्रन्थ


- बसन्त महर्जन
सबै सामग्रीलाई पुस्तक, स्मारिका, छापा माध्यम, विद्युतीय सञ्चारमाध्यम, पत्रकार र पत्रकारका संघसंस्था, सरकारी सञ्चारसंयन्त्र, शिक्षण-प्रशिक्षण, लगानी व्यवस्थापन, मिडिया र अदालत, मिडिया र राजनीति, क्षेत्रीय मिडिया, विकास पत्रकारिता, वातावरण पत्रकारिता आदि ३१ शीर्षक र उपशीर्षकमा सामग्रीहरु बाँडिएका छन् ।

अध्ययन अनुसन्धानका लागि पूर्वकार्यको महत्व अनुसन्धातालाई हुन्छ । मिडिया क्षेत्रकै अनुन्धान गर्ने हो भने पनि सबैभन्दा पहिले आफ्‍नो विषयवस्तुमा कसले, कहिले, कसरी र केकति काम गरिसकेका रहेछन्‍ भन्ने कुरा हेर्नुपर्दछ, नभए सबैले शून्यबाट सुरु गर्ने र पुनरावृत्तिमै अल्झिरहने प्रबल संभावना हुन्छ । यसै सन्दर्भमा 'नेपाली मिडिया सन्दर्भ ग्रन्थ' (Nepali Media Bibliography) प्रकाशन हुनु आफैमा महत्वको कुरा हो ।

नेपाली मिडियासम्बन्धमा केही समययता सक्रिय मार्टिन चौतारीको प्रयासमा प्रकाशित यस ग्रन्थको आवश्यकता सोही ग्रन्थबाट उद्धृत गर्न सकिन्छ 'सन्दर्भ सामग्रीको सूची तयार पार्ने ससाना प्रयासले नेपाली मिडियाबारे सन्दर्भ सामग्रीको ठूलै संग्रह बनाउने हुटहुटी लगाएको थियो, ताकि मिडियाका विभिन्न पक्षमा थप अध्ययन, अनुसन्धान गर्ने चाहनेले यत्रतत्र छरिएर रहेका प्रकाशित, अप्रकाशित सामग्रीको जानकारी एउटै संग्रहमा पाउन सकून् ।'

प्रकाशित ग्रन्थ नै नेपाली मिडियाको सम्पूर्ण सन्दर्भ सामग्रीको सूची भने होइनन् । २०४६ सालयता काठमाडौंमा प्रकाशित नेपाली मिडियासम्बन्धी लेखरचना र पुस्तकहरुको अध्ययनबाट यो ग्रन्थ तयार पारिए पनि त्यसअघिका भेटिएजति सामग्री समावेश छन् । यसका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्धैमासिक पत्रपत्रिका साथै पुस्तक, स्मारिका, विभिन्न कार्यक्रममा प्रस्तुत कार्यपत्र, अनुसन्धानका प्रतिवेदन, विश्वविद्यालयमा शैक्षिक उपाधिका लागि तयार पारिएका शोधपत्रको पनि अध्ययन भएको छ । पक्षका अनुसार सन्‍ २००१ र २००२ मा मात्रै नेपाली मिडियाबारे प्रकाशित पुस्तकको संख्या चार दर्जनभन्दा बढी पुगेको छ । पुस्तकबाहेक थुप्रै सामग्री प्रकाशित भएका छन् । नेपाली मिडियासम्बन्धी प्रकाशित दुई सय चारवटा पुस्तक र लेखहरुको शीर्षक, लेखक, प्रकाशन भएको साल, प्रकाशन संस्थाको सूची तथा परिचय र अनुक्रमणिका गरेर तीन सय ५९ पृष्ठको ग्रथ बन्न गएको छ । सबै सामग्रीलाई पुस्तक, स्मारिका छापा माध्यम, विद्युतीय सञ्चारमाध्यम, पत्रकार र पत्रकारका संघसंस्था सरकारी सञ्चारसंयन्त्र, शिक्षण-प्रशिक्षण, लगानी व्यवस्थापन, मिडिया र अदालत, मिडिया र राजनीति, क्षेत्रीय मिडिया, विकास पत्रकारिता, वातावरण पत्रकारिता आदि ३१ शीर्षक र उपशीर्षकमा सामग्रीहरू बाँडिएका छन् ।

यस क्षेत्रमा के-कति कसले काम गरेको छ र त्यो कहाँ पाइन्छ भन्ने थाहा पाउन प्रकाशित ग्रन्थले अनुसन्धातालाई सहयोग गर्नु नै सन्दर्भ ग्रन्थहरूको उद्देश्य हुने गर्छ भने यही उद्देश्यप्राप्तिका लागि प्रकाशक संस्था मार्टिन चौतारी र सामाजिक विकास तथा अनुसन्धान केन्द्रले काम गरेको बुझिन्छ । तर, सूचीकृत सामग्री कहाँ उपलब्ध हुन्छन् र अध्ययन गर्न पाइन्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्‍छ । प्रकाशन संस्थाहरूसँग नै आफ्‍नो उत्पादन नरहने स्थिति छ भने प्रमुख पुस्तकालयहरूमा पनि सबै पुस्तक, पत्रपत्रिका, स्मारिकाजस्ता कुराहरू संकलन हुन्छ नै भन्ने छैन । ग्रन्थका सम्पादकहरू शेखर पराजुली, प्रत्यूष वन्त, कृष्ण अधिकारी, कोमल भट्ट र देवराज हुमागाईंकै अनुसार पनि लामो समय खर्चेर, बडो मेहनतसाथ ग्रन्थ तयार भएको हो । सामग्री संकलनका क्रममा निकै ठाउँमा भौतारिनुपर्‍यो होला, कति ठाउँमा शून्य हात लाग्यो होला । यस्ता कटु अनुभव अर्का अनुसन्धानकर्ताले भोग्नु नपरोस्‍ भनेर संकलित सामग्री कुन पुस्तकालय वा संस्थामा उपलब्ध हुन्छ भनेर सानो संकेत गरिएको भए कुन्थ्यो । यसरी नै प्रकाशित पुस्तक तथा लेख, शोधपत्र आदिको सारसंक्षेप भए आवश्यक सामग्री पहिल्याउन अझ सजिलो हुनेथियो । नेपालमा विषय-क्षेत्र केन्द्रित पुस्तकालयको अभाव छ । नेपाल राष्ट्रिय पुस्कालय, केन्द्रिय पुस्तकालय (त्रिवि), केशर लाइब्रेरी, मदन पुस्तकालय, आशा सफूकुथी (आशा आर्काइभ्स) आदि प्रमुख पुस्तकालयबीच आपसमा समन्वयको अभाव छ । एकसँग भएको सामग्री अर्कोसँग हुँदैन र भएको ठाउँबाट प्रतिलिपि निकालेर पाठकलाई उपलब्ध गर्ने अभ्यास भएको पाइँदैन । प्रतिलिपि निकाल्न नसकिने भए आफूसँग नभएको सामग्री कहाँबाट हेर्न सकिन्छ भन्ने सूचनामात्र उपलब्ध गरिदिने हो भने पनि अनुसन्धान गर्नेका लागि ठूलो सहयोग हुन्छ ।

नेपाली मिडियासम्बन्धी अध्ययन गर्न चाहनेका लागि सन्दर्भ ग्रन्थ उपयोगी हुनेमा शंका छैन । नेपाली, अंग्रेजी र नेपाल भाषामा प्रकाशित सामग्रीको संकलन भनिए पनि निश्चित अवधिमा बढी ध्यान दिइएको सम्पादन पक्षले स्वीकारेको तर सोही अवधिमा लेखिएका कतिपय सामग्री यसमा समावेश हुन सकेका छैनन् । ग्रन्थका आधारमा सामग्री खोज्दा कतिपय ठाउँमा गल्ती भेट्टाइने संभावना नभएको होइन । गल्ती र छुटेका कुरा पछिल्ला संस्करण वा अध्ययनमा समेटिएलान् । तर, प्रकाशित 'नेपाली मिडिया सन्दर्भ ग्रन्थ' बाट नेपाली मिडिया पुस्तकालयको आवश्यकता बोध भने हुन्छनै।
(स्पेश विशेष (स्पेसटाइम) पृष्ठ, ३ २०६० भदौ १३, शनिबार)