–बसन्त महर्जन
वैशाख १ गते विहान सात बजेतिर काठमाडौं उपत्यकासको उत्तरस्थित बूढानिलकण्ठ परिसरमा पुगियो। साथमा थिए, मित्र प्रभातकिरण कोइराला। गन्तव्य थियो– वाग्द्वार, बागमती नदीको मुहान। बैशाख १ गते काठमाडौंका धेरै ठाउँ घुमिने ठाउँ मध्येको एक यो पनि हो। यस दिन यहाँ ठूलो मेला लाग्दछ। हाम्रो उद्देश्य पनि मेला भर्नु नै थियो। हुन त मान्छेहरू अघिल्लो दिन नै हिंडी वाग्द्वारमा रात बिताई स्नान गरेर फर्कन्छन्। एक हिसावले भन्दा यो परम्परागत रीत हो। तर सोही दिनमात्र पहाड चढ्ने र फर्कने हाम्रो पूर्व योजना बनेको थियो। योजना अनुसार त विहान ६ बजे नै बूढानिलकण्ठमा पुगेर उक्लिसक्ने थियो तर एक घण्टा ढिलो पुगियो। मेला भर्न जानेहरूको कुनै चहलपहल पनि त्यहाँ थिएन। ढिलो भइयो र पछि परियो। बाटो सोध्दै अगाडि बढ्यौं। केही बाटो अघि बढेपछि शिवपरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार आइपुग्यो। शिवपुरी क्षेत्र नेपाली सेनाको नियन्त्रणमा छ। प्रवेशका लागि नेपाली नागरिकका लगि प्रति व्यक्ति दश रुपैया तिर्नुपर्ने रहेछ। दुई जनाको २० रुपैया को टिकट काट्यौं र त्यहीं प्रवेश पुस्तिकामा नाम र हस्ताक्षर गरी यात्रा थालनी गर्यौंन।
अब बाटामा हामी मात्रै थिएनौं। काभ्रेवनस्थलीतिरका एक हूल आइमाईहरूमध्ये एक जना हिड्न नसकेर त्यतै मेला भर्नका लागि गाडी नै रिजर्भ गरेर आएकाहरूसँग पठाइएको थियो। गाडी घुइय्य गरेर अघि बढ्यो। हामी तिनै आइमाईहरूसँग कुरा गर्दै अघि बढ्यौं। कुराकानी रमाइलो नै भयो। हाम्रो प्रश्न थियो– मेलामा आइमाईहरू मात्र किन त?' उनीहरूमध्ये एकले जवाफ दिइन् – पुरुषहरू मेलामा के आउँथे र? आउन नै नमान्ने। हामीमात्रै आयौं। पुरुषहरू त यति बेलासम्म (करीव आठ बजेतिर) पनि सुत्दै होलान्।'
महिलाहरू निकै बलिया नै देखिन्थे। ती मध्ये हिड्न नसक्ने त झापाा माइत रहेकी महिला रहेछ। मेरो साथी प्रभात पनि झापाली नै। मैले भनें– झापाली हुँदैमा हिड्न नसक्ने त होइन, उहाँ पनि झापाली नै हुनुहुन्छ। बाटामा अनेकौं कुरा भयो। विहानै उठेर सपनतीर्थको दर्शन गरी बूढालीलकण्ठ हुँदै आएका रहेछन्, उनीहरू। विहान निस्कँदा हल्का पानीपरेको थियो। यात्रामा निस्कने बेला यसरी पानी पर्नु शुभ मानिन्छ, नेपाली समाजमा। उनीहरू खुशी थिए।
अलि अगाडि बढेपछि गोठाटारबाट आएका दुई जोडी (संभवतः लोग्नेस्वास्नीहरू) भेटिए। पहिलो पल्ट आएका रहेछन्, सोधे– बाटो कति बाँकी होला?' अहिले सम्झँदा हाँसो पनि उठ्छ , सम्पूर्ण बाटोको एक प्रतिशत पनि यात्रा गरिएको थिएन, त्यति बेलासम्म। उनीहरूसँग पनि केही बेर कुरा गर्दै अगाडि बढे्दै गर्दा उपत्यका छर्लङ्गैै देखियो, दृष्यलाई क्यामेरामा कैद गरिहालें। दृष्यलाई पृष्ठभूमिमा राखेर उनीहरूकै क्यामेराबाट पनि उनीहरूको फोटो खिचिदिएँ। उनीहरू विस्तारै हिडिरहेेका थिए। हामी अगाडि बढ्यौं। बागद्वारमा घन्टौं अलमलिदासम्म पनि उनीहरू आइपुगिसकेका थिएनन्।
बाटोमा एउटा घ्याङ आइपुग्यो। ठूलो चौर पनि रहेछ। मान्छेहरू त्यहाँ खानपिन गरिरहेका थिए। घ्याङमा खाने कुराको पसल पनि रहेछ। त्यहीं पसल नजिकै दुईचार जना आनीहरू मिलेर आलु तरकारी, पुरी, चिउरा आदि बेचिराखेका थिए। हामीले आलु तरकारी दुई ठाउँमा किन्यौं र बोकेर गएका अरु खानेकुरा झिकेर खान थाल्यौं।
हामी हिड्दै गयौं बढ्दै गयौं। थालनीमा हामी मात्रै छौं जस्तो लागेको थियो, माथि माथि पुगेपछि त भीड भेटिन शुरू भयो। भीड यतिसम्म कि कहिले काहीं साँघुरो बाटो आयो कि रोक्नु नै पथ्यर्ों। चार जना आइमाइहरू एक ठाउँमा बसिरहेका थिए। तिनीहरूमध्ये एकले सोधिन्– अब कहिले पुग्ने होला?' फर्किराखेकाहरू मध्ये कसैले एक घन्टा भने त कसैले डेढ घण्टा। दुई घण्टामा पुगिन्छ भन्नेहरू पनि आए। मैंले भनें– 'तपाईहरू यस्तै बसिराख्ने हो भने पाँच छ–घन्टा लाग्न सक्छ, पुग्दै नपुग्न पनि सक्छ।' अलि ठट्यौलो पारामा भनेको थिएँ तर मेरो कुराले तिनीहरूलाई लज्जित बनाएछ कि कुन्नी, हिड्ने तरखर गर्न थाले। तिनीहरूमध्ये एउटी युवतीको हातमा मोवाइल फोन थियो र त्यसबाट गीत सुनिराखेकी थिइन। हिन्दी गीत राम्रो थियो। गीत सुन्दै संगै हिड्न थाल्यौं। केही बेरपछि फर्केर आइरहेको एउटा त्यस्तै १७–१८ वर्षको तामाङ केटोले ती मोबाइलधारी आइमाईसँग केही कुरा सोध्यो, हामीले बुझेनौं। पछि बुझ्दा थाहा भयो, त्यो मोबाइल त्यही केटाको रहेछ, बाटोमा खसेको र ती आइमाईहरूले भेट्टाएको। मोबाइल अर्कै आइमाईले भेट्टाएको रहेछ, र किन त्यत्तिकै बोकेर हिड्ने बरु गीत सुन्दै जाऔं न भनेर युवतीले लिएको रहेछ। फिर्ता भयो। हामी अघि बढ्यौं। केही माथि पुगेपछि एउटी आइमाई पछाडि फर्केर फत्फताइरहेकी थिई– ''साले हरामी, मार्दिन्छु म त्यसलाइ त, कस्तो शुद्धि नभएको ...।'' तिनले आफ्नो छोरालाई गाली गरिरहेकीे रहिछन्। अघि मोबाइल हराउने उनैको छोरो रहेछ। मोबाइल हराएकोमा रिसाएकी। मोबाइल भेट्टाइसकेको सूचना दियौं। अर्थ नै नबुझी शब्दको प्रयोग गर्दा कति उल्टो पर्न सक्छ, आफ्नै छोरालाई 'हरामी' भन्दै थिईन् उनी।
बल्ल बाग्द्वार पुग्यौं। हेर्दाहेर्दै भीड बाक्लियो। पूजा मात्रै गर्नेको र धारामा नुहाउनेहरूको गरी दुई लाइन थियो। तीनतिर पहाड र खोंचमा धारा। धारा अगाडि केही फीटको बाटो र त्यो बाटो मुनि सानो पोखरी। र, यसको वरिपरि मेला भर्न आउनेहरूको भीड। लाइन मिलाउन बसिराखेका स्थानिय 'भोलेन्टियर'हरूमा अलिकति पनि शिष्टता थिएन। धारा कता छ र कहाँबाट जाने अथवा कहाँ जानु हुन्छ र जानु हुन्न भन्ने केही थाहा नपाएर अलमिलिरहेको भीडलाई ती 'भोलियन्टिर'हरू यसरी गाली गर्दै थिए, मानौं, भीडलाई सबै कुरा थाहा थियो र थाहा भएपनि नियम मिच्दै थियो। बाटो देखाउन बसेका 'भोलेन्टियर'हरू गाली गर्नमैं मस्त देखेर दुःख पनि लाग्यो। अरू बेला देखाउन नपाएको तुजुक उनीहरू देखाइरहेका थिए। हामीलाई हतारो थिएन। तत्काल भीडतिर लागेनौं पनि। माथि डीलबाट भीड हेर्यौंद। डीलमा बसेर भीड हेर्नेहरूको भीड त्यहाँ अलग्गै थियो। बरु त्यही भीडमा हुल्यौं। क्यामेराबाट भीडको दृष्यहरूलाई धमाधम उतार्यौंड पनि। त्यहीं गफ गरेर बसिरहेको बखत हामी नजिकै एक बोटल पानी आइपुग्यो, धारामा थापेर ल्याएको रहेछ। लाइनमा बसेर जान नचाहेको वा नसकेकाले एक जनामात्रै गएर पानी ल्याएको रहेछ र त्यो पानी त्यहीं टाउको टाउकोमा पर्ने गरी छर्कियो। भनें– ''लौं, हामी पनि बाग्द्वारमा पुग्यौं र नुहायौं, होइन त?'' सबै गललल हाँसे।
एक घन्टा त्यहाँ बसेपछि बाग्द्वारको धारालाई नजिकबाट फोटो खिच्ने अभिप्रायले तल झर्यौंट। एउटा भोलेन्टियर'लाई फोटो मात्रै खिच्ने र फर्किहाल्ने भनेर मनाइसकेको थिएँ, तर अरु 'भोलेन्टियर'हरूले मान्दै मानेनन्। अलिबेर कराउन थालेपछि बल्ल भित्र पस्न दियो। एउटा धारा, त्यहीं थियो बागमतीको मुहान। अरु बेला पहाडबाट मूल फुटेर आइरहेकोलाई बाघआकृतिको ढुङ्गाको धाराबाट बगाइराखेको हुन्छ भने त्यस दिनमात्र पित्तलको धारा जडान गरिन्छ। वरिपरि ढुङ्ागका केही कलाकृतिहरू पनि थियो र ती कलाकृतिहरूमाथि सामान्य दृष्टि थिएँ। ती कलाकृतिहरू काठमाडौंका नेवार जातिले चढाएका हुन् अथवा अन्य समुदायले काठमाडौंमा बनाउन लगाएर चढाएका हुन्, शैलीले यही भन्छ। केही वर्षअघिसम्म पनि बाग्द्वारमा काठमाडौंका नेवारहरू ठूलो मात्रामा जान्थे, बाजागाजासहित। तर अचेल पातलिन थालेको छ र गएका नेवारहरूलाई पनि अन्य सम्ुदायबाट छोपिन थालेको छ।
अघिल्लो दिन नै पुगी वास बस्न जानेहरू कहाँ बस्छन् त? धारा वरिपरि वास वस्ने ठाउँ त देखिन्न। धाराभन्दा अलि माथि अर्को ठाउँ पनि रहेछ। त्यहीं वास बस्दा रहेछन्। त्यहाँ त त्यतिबेला सानो बजार लागेको थियो। बाग्द्वार मात्रै जानेहरू यत्तिमै फर्कदारहेछन् तर हामी भने शिवपुरी हुँदै विष्णुपादुका (विष्णुमतीको मुहान) भएर फर्कने हिसावले झन् झन् उक्लदै गयौं।
No comments:
Post a Comment